सुनसरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ ।

शुक्रवार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १०औँ संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।

एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, ब्याडमिन्टन, बुद्धिचाल र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए ।

गत वर्षदेखि सुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यसबर्ष पनि निरन्तरता दिने कार्यक्रम संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।

इटहरीमा हुने पाँच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने बताइएको छ । स्पोर्टस मिट अन्तर्गत फुटबल धरान र इटहरी रङ्गशालामा, क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल मावि इटहरीमा हुने संयोजक भण्डारीले बताए ।

यस्तै टेबल टेनिस, ब्याडमिन्टन र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने र हिसान हाजिरी जवाफ र बास्केटबल इटहरीस्थित सुष्मा स्कुलमा खेलाइने कार्यक्रमका सहसंयोजक सुवास लुइँटेलले बताए ।

हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरिका ६ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता  जनाउने र ६ हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।