सुनसरी : धरान फुटबल क्लब इटहरीमा जारी स्व.कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

धरानको जितमा मिलन राईले दुई गोल तथा विनोद राई र सुगम जिमीले एक एक गोल गरे। मिलनले ३२ र ५२ औँ मिनेटमा गोल गरेका थिए । तेस्रो गोल विनोद राईले खेलको ६७ औँ मिनेटमा गरेका थिए । अनिल राईको स्थानमा ७०औँ मिनेटमा मैदान प्रवेश गरेलगक्तै सुगमले चौथो गोल गरेपछि धरान सहज जीतका साथ सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको म्यान अफ द म्याच मिलन घोषित भए । उनलाई इटहरी उपमहानगर-२० का वडाध्यक्ष तथा खेलका प्रमुख अतिथि मणिराम श्रेष्ठले नगद ५ हजार प्रदान गरे । प्रतियोगिता अन्तर्गत सोमबारको खेल सङ्खुवासभाको लोहरुङ फुटबल र दमक फुटबल एकेडेमी झापाबिच प्रतिस्पर्धा हुने आयोजक द योङ्ग ब्रर्दश क्लबले जानकारी दिएको छ।

प्रतियोगितामा कोसी प्रदेशका विभिन्न आठ वटा टिमको सहभागी रहेको क्लबका संरक्षक विकास केसीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद दुई लाख ११ हजार र उपबिजेताले नगद एक लाख ११ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउँदा विधागत उत्कृष्टले नगद १० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने आयोजकले जानकारी दिएको छ ।

Dharan football club Semi2