धरान : नेपाली काँग्रेस धरान ५ वडा समितिद्वारा आइतबार ‘रक्तदान जीवन दान’ मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन भएको छ । कार्यक्रममा ५४ जना पुरुष, २४ महिला समेतले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र तामाङले काँग्रेस सत्तामा रहेपनि नरहेपनि जनताको मनमा रहनुपर्ने बताए । काँग्रेस देश र जनताको चाहना र भावना अनुसार स्थापना भएको लोकतान्त्रिक पाटी भएकाले सत्तालाई भन्दा जनतालाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
पाटीले जनता र समुदाय लक्षित सामाजिक एवं मानवीय सेवाको क्षेत्र, सुशासनका लागि विशेष कार्य गर्नुपर्ने बताउँदै काँग्रेस धरान वडा ५ को रक्तदान कार्यक्रम उदाहरणीय भएकोमा प्रशंसा गरे ।
नेपाली काँग्रेस, धरानले मासिक रक्तदान कार्यक्रम आयोजना गर्ने नीति अनुसार वडा ५ ले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरिएको वडा सभापति कुमार देवानले बताए ।
काँग्रेस उपमहानगर सभापति श्याम पोखरेल, सचिव हिमाल श्रेष्ठ, हिमाली माविका प्रधानाध्यापक एमकुमार खत्री, देउराली चिल्डेन एकेडेमीका प्रिन्सिपल नविन गौतम, लिङ्देन समाजका अध्यक्ष मानबहादुर लिम्बु, वडा उपसभापति जीवन लिम्बुले शुभकामना प्रकट गरे ।
रक्तदानका रक्तदाता तथा कार्यक्रममा आर्थिक, भौतिक सहयोग गर्नेहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।




































































