धरान : धरानका मेयर हर्क साम्पाङले मेयरको पदभार ग्रहण गरेको एक सय दिन पुरा भएको छ ।
यो अवधिमा मेयर साम्पाङले विभिन्न अभियानहरू चलाए । पदभार ग्रहण गरेपछि सुरुमै खानेपानी समस्या समाधानका लागि भनेर धरान आसपासका खोला खोल्सी पुगेका मेयर साम्पाङ अहिले पनि सर्दु, खर्दु र निशाने खोलामै केन्द्रित रहेर अभियान चलाइरहेका छन् । यो क्रममा उनको फेसबुक स्ट्याटस र फेसबुक लाइभले निकै आलोचित भइरहेको बेला धरान-९ का निवर्तमान वडाध्यक्ष रत्नबहादुर कटुवालले पनि फेसबुकमा मेयर हर्क साम्पाङलाई प्रश्न गरेका छन् । मेयर साम्पाङ मेयर हुनु भन्दा पूर्व धरानमा भएको खानेपानी अभावको मुद्दालाई प्रमुखताका साथ उठाएर अभियान चलाउने अभियन्ता हुन् । त्यसैले पूर्व वडाध्यक्ष कटुवालले तीनै अभियन्ता मेयर भएपछि आफ्नो फेसबुकमा यस्तो प्रश्न राखेका छन् ।
उनले "धरानका मेयर ज्यु, धरानमा एडिबीको अनुदान र ऋणमा आएको खानेपानी परियोजनामा चरम भ्रष्टाचार भएको छ। पहिला भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ भन्दै नामै तोकेर हिँड्नु हुन्थ्यो । अहिले मेयर भएपछि त्यही परियोजना (धरान खानेपानी बोर्ड) को अध्यक्ष हुनुहुन्छ । अहिले त तपाइले भनेका तिनै भ्रष्टाचारीहरूलाई सँगसँगै लिएर हिँड्नुहुन्छ । कारबाही कहिले गर्ने मेयर ज्यु, कि मेयर भएको उपलक्ष्यमा क्षमा बक्स भएको हो ? हैन भने, के पारा हो यस्तो ?" भन्दै प्रश्न गरेका छन् ।
कटवाल गत स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार समेत थिए । निर्वाचनमा उनले पानीको धारा चुनाव चिन्ह पाएका थिए । 
विगतमा अभियन्ता हुँदा खानेपानी परियोजनाको भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग गर्दै नगरपालिका घेराउ गर्ने तिनै मान्छे आज मेयर हुँदा पनि एडिबीमा भएको भ्रष्टाचार सार्वजनिक नगरेकोले मैले मेयर हर्क साम्पाङलाई फेसबुक मार्फत प्रश्न गरेको कटुवालले बताए । एडिबी परियोजनामा चरम भ्रष्टाचार भएको छ भन्ने व्यक्ति आज त्यही खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष र मेयर हुँदा पनि धरानको खानेपानी मा भएको भ्रष्टाचार सार्वजनिक नहुनु भ्रष्टाचारीलाई संरक्षण गरिएको जस्तो देखिएको भन्दै कटुवालले यसबारेमा मेयर सावको ध्यान जानुपर्ने बताए ।