धरान : धरान रङ्गशालामा जारी २४औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको प्रि-क्वाटर फाइनल खेल आज बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको आयोजना गोधुली क्लबले गरेको हो । टेस्टी टेस्टी नुडल्स प्रतियोगिताको मुख्य प्रायोजक छ ।

आज भएको पहिलो प्रि-क्वाटर फाइनल खेलमा धरान-५ ले धरान-१९ लाई २-१ गोलले पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलमा धरान-५ का तिल विक्रम लावतीले ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । प्रीतम लिम्बुले  खेलको ४४ औ मिनेटमा अर्को गोल थपेर टिमलाई अग्रता दिलाएका थिए । उनको गोल नै आज भएको प्रि-क्वाटर फाइन खेलको निर्णायक गोल सबित भयो ।

यसअघि धरान-१९ का प्रमेश राईले खेलको ३१ मिनेटमा १ गोल गर्न सफल भएका थिए ।

खेलको म्यान अफ द म्याच वडा ५ का प्रीतम लिम्बु घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद १५ सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।

भोलि हुने प्रिक्वाटर खेल धरान-१२ र धरान-१४ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।