धरान :  धरान रङ्गशालामा जारी २४औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको शुक्रवार भएको  प्रि-क्वाटर फाइनल खेलमा धरान-१४ ले धरान-१२ लाई ३-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो प्रि-क्वाटर फाइनल खेलमा धरान-१२ का विक्रम मरिकले आत्मघाती गोल गर्दै  धरान-१४ लाई क्वाटर फाइनलमा पुर्‍याउन सघाएका थिए । मरिकले खेलको ७२ औ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
धरान-१४ का नितेश मगरले खेलको ४५ औँ मिनेटमा पहिलो गोल गरे । विपिन श्रेष्ठले खेलको दोस्रो हाफको ५० औ मिनेटमा अर्को गोल थपेर टिमलाई अग्रता दिलाएका थिए ।
यसअघि धरान-१२ का विक्रम मरिकले खेलको पहिलो हाफको २९ मिनेटमा १ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच धरान-१४ का विपिन श्रेष्ठ घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद १५ सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
प्रतियोगिताको सुपर ८ गोधुली रनिङ कप २०८० मा धरान वडा ५, १८, ११, १४, १३, ८, ६, १७ पुग्न सफल भएको छ । सुपर ८ मा पुग्न सफल वडाहरू बिच सुवास राई मेमोरियल सुपर ८ टुर्नामेन्टमा प्रतिस्पर्धा गर्न सहभागी हुन पाउने भएका छन् ।
गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।
भोलि शनिवार हुने पहिलो क्वाटर फाइनल खेल धरान-५ र धरान-१८ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।
godhuli-cup--10-19