धरान : धरान रङ्गशालामा जारी २४औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको आइतबार भएको क्वाटर फाइनल खेलमा धरान-१४ ले धरान-११ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा धरान-१४ का सरोज राईले १२औँ मिनेट र दोस्रो हाफको १० मिनेटमा १/१ गरी २ गोल गर्दै एकल स्कोरमा टिमलाई विजयी बनाए ।

धरान-११ का रिवस मास्केले खेलको ३२ औँ मिनेटमा १ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच धरान–१४ का सरोज राई घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

भोलि सोमबार हुने क्वाटर फाइनल खेल धरान-१३ र धरान-८ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।