धरान : धरान रंगशालमा जारी २४औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा धरान-१८ ले धरान-५ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो खेलमा धरान-१८ का रोशन उराँवले खेलको १६ मिनेटमा पहिलो गोल गरेका थिए ।

खेलको दोस्रो हाफको ५ मिनेटमा धरान-५ का अमित बिकले १ गोल गरी खेल बराबरीमा पुर्‍याए ।

निर्धारित ९० मिनेटको खेल बराबरी रहेपछि दुवै टिम साढे ७ मिनेटको हिसाबले १५ मिनेट समय थप गरिएको थियो ।

थप समयमा धरान-१८ का विनोद चौधरीले १ गोल गरी टिमलाई विजयी बनाएका थिए ।

खेलको म्यान अफ द म्याच धरान-१८ का रोशन उराँव घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।

भोलि आइतबार हुने क्वाटर फाइनल खेल धरान-११ र धरान-१४ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।