धरान : धरान रङ्गशालामा जारी २४ औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको बुधवार भएको पहिलो सेमिफाइनल खेलमा धरान-१३ ले धरान-१८ लाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा धरान–१३ का मिलन राईले खेलको ३४ मिनेटमा, दोस्रो हाफको २ मिनेट र २७ मिनेटमा लगालग ३ गोल गरी प्रतियोगितामा ह्याट्रिकको कीर्तिमान कायम गरे । खेलको २४ र २६ मिनेटमा विवेक राईले लगालग २ गोल गरे । सहिल श्रेष्ठले दोस्रो हाफको ४५ मिनेटमा १ गोल थपेर आधा दर्जन गोल पुर्‍याएको हो ।

निर्धारित ९० मिनेटको खेलमा धरान-१८ का विनोद चौधरीले खेलको दोस्रो हाफको १५ मिनेटमा १ गोल गरे ।

खेलको म्यान अफ द म्याच धरान-१३ का मिलन राई घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २ हजार ५ सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

भोलि बिहीबार  हुने दोस्रो सेमिफाइनल खेल धरान-१७ र धरान-१४ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान गरिने छ ।