धरान : झापा, मोरङ सुनसरीका विद्यालयहरूका बिच हुने अन्तर स्कुल दोस्रो मेजर श्रवणकुमार मेमोरीयल रनिङ कप बास्केटबल प्रतियोगिता फागुन ४ गते धरानमा सुरु हुने भएको छ ।

प्रतियोगिता डिपो स्कुलको आयोजनामा आयोजना गर्दै आएको छ । स्कुलको विकासमा लामो समय महत्त्वपूर्ण योगदान दिनु भएका दिवङ्गत मेजर श्रवणकुमार लिम्बूको सम्मानमा गत: वर्ष देखी प्रतियोगिता सुरु गरिएको हो ।

प्रतियोगिता फागुन ९ गते सम्म ६ दिन सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक डिपो स्कुलले जानकारी दिएको छ । प्रतियोगितामा झापा, सुनसरी र मोरङका १६ वटा विद्यालय बिच प्रतिस्पर्धा हुने डिपो आदर्श बहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले बताए ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरू मात्र सहभागी हुन पाउने छन् । विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि प्राप्त गर्नेछ ।

व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मर बहादुर लिम्बुका अनुसार प्रतियोगिता डिपो स्कुल र दिवङ्गत मेजर श्रवणकुमार लिम्बूको परिवार बिच सहकार्यमा स्थापना गरिएको बताए । उनका अनुसार मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रूपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठी व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्व गरेका थिए ।

उनको कोरोना महामारीको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो । पत्रकार सम्मेलनमा व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बूले मेजर श्रवणकुमारको योगदानको बारेमा प्रकाश पारेका थिए ।

प्रतियोगिता धरान-१८ डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन फागुन १ सम्म विद्यालयहरूले सम्पर्क गर्नुपर्ने छ । खेल तालिका फागुन २ गते तयार गरिने छ । प्रतियोगिता धरान बास्केटबलको सहयोगमा सञ्चालन हुने बताइएको छ ।