चतरा : पूर्वबाट काठमाडौँ जोड्ने ४ वटा राजमार्गको कोशी नदी पार गर्ने केन्द्र विन्दु बन्न लागेको उदयपुरको बेलका-८ कोठूमा सुविधा सम्पन्न पर्यटक स्तरीय कोशी प्यालेस होटेल सञ्चालनमा आएको छ ।

गत पुस १६ देखी प्रिआपनिङ गरिएको होटेल माघ २७ गते शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम भएको सञ्चालक सम्पत राईले बताए । डेढ वर्षमा निर्माण सम्पन्न भएको होटेलमा अहिले सम्म ७ करोड रुपैयाँ लगानी भएको उनले बताए । होटेल कोसीपुल तरेर मैनामैनी, हसनपुर, घोरेटार हुँदै भोजपुर जाने सडक प्रवेश स्थलमा छ।

पछिल्लो समय द्रुतगतिमा निर्माणाधीन राजमार्गहरू कोसी कोरिडोर, तमोर कोरिडोर, मदन भण्डारी राजमार्ग, मध्य पहाडी राजमार्गको कोशी नदी तरेर जाने केन्द्र विन्दुको रूपमा बेलका र चतराको विकास हुँदैछ ।

सप्तकोशीमा जल यातायातको विकासले यस क्षेत्रमा पर्यटन, आर्थिक गतिविधिले बृहत्तर गति लिने सम्भावना बढेको बेला पर्यटकीय होटेल सञ्चालनमा आएको हो । यसबाट पर्यटकीय पूर्वाधार विकासमा नीजिक्षेत्रको नयाँ लगानीलाई आकर्षित गर्ने सम्भावना बढाएको छ।

कोसी नदीमा जल पर्यटनका लागि आउने आन्तरिक पर्यटक, राजमार्गहरू हुँदै काठमाडौँ जाने र आउने सडक मार्ग, गाईघाट हुँदै ताप्लेजुङको पाथीभरा पुग्ने तीर्थयात्री साथै बङ्गाल, बिहार र तेस्रो मुलुकबाट तीर्थाटनमा वराहक्षेत्र आउने पर्यटक लक्ष्यीत होटेल सञ्चालन गरिएको सञ्चालक राईले बताए ।

उनका अनुसार पर्यटन मन्त्री किराँतीले मुन्धुम ट्रेललाई चतरादेखि अक्करको बाटो हुँदै भोजपुर जोड्ने प्रतिबद्धतालाई कोसीपुल मैनामैनी हुँदै भोजपुर जाने पर्यटकका सुविधाजनक वासस्थान कोशी प्यालेस हुनेछ ।

स्थानिय रमेश हतुवालीले भने ‘कोसीपुललाई पर्यटकको हबका रूपमा विकास गर्न ठुला लगानीकर्ता आकर्षित हुनु सकारात्मक छ ।’ कोसी क्षेत्रको पर्यटन विकासमा होटेल व्यवसायले प्रवर्द्धन काम सँगै रोजगारी सिर्जना गरेको उनले बताए ।

२ कट्ठा जग्गामा निर्माण भएको होटेल कोसी प्यालेसमा पर्यटक स्तरीय कुजिन र कन्टिनेन्टल स्वाद स्थानीय पारखीहरूका लागि उपलब्ध छ । साथै स्थानीय मौलिक खाना र ढावाको स्वादलाई पनि होटेलले उपलब्ध गराउने छ ।

सञ्चालक राईले भने ‘भारतीय पर्यटक यस क्षेत्रमा आउने भएकाले भारतीय परिकारका विभिन्न स्वाद त अवश्य नै पस्कने छौँ ।’ सार्थ स्थानीय मौलिक परिकारलाई समेत परिचित गराउने उनले बताए ।

होटेलका व्यवस्थापक सङ्गीत सिग्देलले भने ‘विशेष गरेर यो क्षेत्रमा आएका पाहुनालाई आतिथ्य सत्कारसहितको स्तरीय आवासीय व्यवस्था मिलाउने छौँ ।’

होटेलमा पर्यटकका लागि १५ वटा कोठा उपलब्ध छ । नन एसी स्ट्यान्डर्ड डबल बेड २ वटा, स्ट्यान्डर्ड ट्रिपल बेड २ वटा, डिलक्स एसी क्विन बेड ४ वटा, सुप्रिम डिलक्स २ वटा, लक्जरी चेम्बर बाथटब अट्याच्ड एउटा र फेमिली रुम एउटा उपलब्ध छ ।

प्रतिकोठा प्रतिदिन २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेको व्यवस्थापक सिग्देलले जानकारी दिए । होटेलमा एउटा कन्फेरेन्स हल, २ वटा रेस्टुरेन्ट र किड्स पुल समेत छ ।

उनका अनुसार किचन डिपार्टमेन्टमा अनुभवी सेफ छन् । यो क्षेत्रमा पहिलो पटक कफी मेसिनबाट उत्पादित कफी सर्व गरिने छ । तन्दुर, नान समेत पहिलो पटक उपलब्ध गराइँदै छ ।

कोसीपुल क्षेत्रमा हाल होटलहरु भरिभराउ हुन थालेका छन् । होटेल, लज तथा रेस्टुराँहरूमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि खचाखच हुन थालेको छ । यही समयमै पिकनिक, सेमिनार तथा तालिमका कार्यक्रमले हलहरूसमेत साता दिन सम्मका लागि बुकिङ हुन थालेको छ ।

स्थानीय मनोरम वातावरण, कोसी नदीको सुन्दर दृश्य, कोसीमा चल्ने जेट बोट र परिकारमा कोसीका माछाको स्वादले समेत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको सञ्चालकको भनाइ छ ।

धार्मिक पर्यटनसँगै जल पर्यटन, साहसिक पर्यटन र पर्यापर्यटनलाई जोडेर बेलका र वराहक्षेत्रका निजी क्षेत्रले कोसी आसपासमा लगानी गर्न थालेपछि यहाँको आन्तरिक पर्यटकको आवागमन बढेको छ ।