विराटनगर : पछिल्लो समय विराटनगरको भौतिक विकासका ठुला योजनाहरू दक्षिणी क्षेत्रमा केन्द्रित भएका छन् ।

दक्षिणका वडामा बहु वर्षीय ठुला योजनाहरू ५ करोडको वडा-१४ स्थित रानीपोखरी, ६ करोडको पार्क सहितको मण्ठा पोखरी निर्माणाधीन रहेको र वडा १८ मा विराट राजाको दरबार उत्तर स्थित पोखरी निर्माण सकिएको मेयर नागेश कोइरालाले बताएका हुन् ।

आइतबार सार्वजनिक सुनुवाइमा उनले नेपाली सेनासँगको सहकार्यमा विराटराजाको प्राचीन दरबार सङ्ग्रहालय सञ्चालनमा आएको बताए । हरेक वडामा १ करोड बढीका ठुला योजना सञ्चालनमा रहेको बताए ।

विराटनगर १२ लेखनाथ वाचनालय पश्चिम ढल ३ करोड ६० लाखको लागतमा विराटनगर-१३ आँखा अस्पताल अगाडिको सडक, १४ वडाको भगवती मार्ग, १५ वडाको सुँडी टोल ढल र सडक, १६ वडाको आर्जे क्लिनिक पूर्व सडक, १७ वडाको मटेरुवा चोक पूर्व सडक, र १८ वडाको फडानी चोक नहर उत्तर सडक १/१ करोडको लगानीमा निर्माण भइरहेको उल्लेख गरे ।

वडा ११ को केशलिया रोड-रानी सम्मको नहर डिलमा कालोपत्रे ठेक्का प्रक्रिया सुरु गरिएको, वडा १५ मा डुबान समस्या दीर्घकालीन समाधान गर्न ६ लेन सडक कार्यालयलाई प्रचार गरेको उनले बताए । भने, ‘भौतिक विकाससँगै मानव विकासमा पनि महानगरले काम गरिरहेको छ ।’

चालु आर्थिक वर्ष ८७ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा माघ २८ गतेसम्म २७ करोड ५६ लाख ५० हजार राजस्व सङ्कलन भएको जानकारी दिए । गत आर्थिक वर्ष ६४ करोड ५ लाख राजस्व सङ्कलन भएकामा यस वर्ष आर्थिकमन्दीका कारण राजस्वको लक्ष्य पूरा हुने अवस्था नरहेको बताए ।

फुटपाथ नियन्त्रण, सरसफाइ, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवनमा रोक, १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था, विद्युत् र केवल-नेटको तार व्यवस्थापन गरेको मेयर कोइरालाले बताए ।

मेयर कोइरालाले आफूले पद सम्हाले यता १४ किलोमिटर कालोपत्रे, ३९ किलोमिटर ग्राभेल र १४१ वटा कल्भर्ट निर्माण भएको उल्लेख गरे । १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, २ करोड ११ लाखको लागतमा बाल उद्यान, ५ करोडको आरती स्थल, १४ करोड ७५ लाख रुपैयाँको प्रशासनिक भवन निर्माणाधीन रहेको बताए ।

सुनवाइमा उपमेयर शिल्पा निराला कार्कीले महानगरसित भएको सीमित स्रोतले महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि लागिपरेको बताउँदै भनिन्, ‘विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन स्थानीयको पनि खबरदारी जरुरी रहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सार्वजनिक सुनुवाइमा उठेका विषयलाई जनप्रतिनिधि र कर्मचारी मिलेर सम्बोधन गर्ने प्रतिबद्धता जनाए । वडा १०का अध्यक्ष अर्जुन गिरी, ११का तीर्थेन्द्र नेउपाने, १३का सूर्यलाल यादव, १४का सूर्यनारायण महतो, १५का प्रकाश साह, १६का उद्धव भुजेलले सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको जवाफ दिए ।

सुनवाइमा महानगरपालिकाले दक्षिणलाई प्राथमिकता दिएकोमा दक्षिण भेगका स्थानीयको सकारात्मक प्रतिक्रिया दिए । विराटनगर-१५ का मित्रलाल गिरीले विगत गरिएका भेदभाव हट्ने आशा जगाएको बताए ।

वडा १३ का रामप्रसाद दुलालले रोडशेषदेखि दक्षिण विकासमा धेरै पछि परेकोले प्राथमिकतामा राख्न आग्रह गरे । वडा १५ का संजीव सुब्बा, वडा १६ का किशोरकुमार मण्डल, वडा १५ का अमरबहादुर बस्नेत, वडा १३ की पार्वती राम, अजयकुमार साह, भूपेन्द्र यादव, महेन्द्रप्रसाद मण्डल, विकास मण्डल लगायतले आउँदो बजेटमा प्राथमिकता कार्यान्वयन गरिएको देखियोस् भनी आग्रह गरे ।