वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं.१ र वडा नं.५ भिड्ने भएका छन् ।

मङ्गलवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं.५ विजयी हुँदै फाइनलको यात्रा तय गरेको हो। वडा नं.५ ले वडा नं.७ लाई टाइब्रेकरमा पाँच गोलको विरुद्ध छ गोलले अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल बनेको थियो ।

वराहक्षेत्र ७ देबिघाट स्थित बसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसके पछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं.५ का गोलरक्षक  सन्देश चौधरी म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थिए ।

सोमवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं.३ लाई शून्यका विरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै वडा नं.१ फाइनलमा प्रवेश गरेको थियो । उपाधिका लागि शुक्रवार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता ३ पटक विजेता हुने टोलीले चाँदीको सुन्दर ट्रफि आफ्नो स्वामित्वमा पार्नेछ । प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुने टिमले ५० हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेताले चाँदीको सुन्दर ट्रफी प्राप्त गर्नेछ । अर्को सिजनको लिग सुरु भएको १ हप्ता अगाडि उक्त ट्रफि आयोजकलाई फिर्ता गर्नुपर्ने र रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले ३ पटक विजेता भए मात्र उक्त ट्रफी विजेताको स्वामित्वमा हुने वराहक्षेत्र नगरपालिका खेलकुद नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत तेस्रो र चौथो टिम छनोटका लागि बुधवार वडा नं.३ र वडा नं.७ बिच प्रतिस्पर्धा हुनेछ ।