विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन मोरङ प्याब्सनद्वारा आयोजित १३औँ प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा-६ दुलारीको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले चुमेको छ ।

प्रतियोगिताको समापन आइतबार राती भएको थियो । प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो ।

जुनियरका साबिक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अङ्क ल्याएर उपाधि जितेको छ ।  प्याब्सन मोरङको प्रतियोगितामा जुनियरमा ३ स्वर्ण, ४ रजत सहित ३० अङ्क ल्याएर सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल द्वितीय र सगरमाथा स्कुल तृतीय भएको छ ।

विराटनगरको एभरेस्ट स्कुलले ३ स्वर्ण, ३ कास्य पदक सहित २१ अङ्क ल्याएर चौथो भएको छ । सिनियरमा विकेभीएम स्कुल १५ अङ्क ल्याएर दोस्रो र १३ अङ्क ल्याएर पथरीको एभरेस्ट स्कुल तेस्रो भएको छ ।

छात्रातर्फ उत्कृष्ट खेलाडी पूर्वाञ्चल एकेडेमीकी सृजना बि.क. घोषित भइन् । उनले खेलभरीमा ५ स्वर्ण पदक जितिन् । छात्रतर्फ उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुलका सुबोध चौधरी घोषित भए । उनले दुई स्वर्ण र एक रजत पदक जिते ।

विराटनगरको बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको छ । एभरेस्ट स्कुललाई ५७-३५ सोझो सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो । सगरमाथा स्कुल दोस्रो भए । सगरमाथाले सेन्टजोसेफ स्कुललाई ४८-१४ सेटले हरायो । उत्कृष्ट खेलाडी बिकेभिएमका गुणनन्द यादव घोषित भए ।

भलिबलमा जुनियर र सिनियर गरी चार स्कुलले उपाधि जितेको छ । जुनियरमा छात्रातर्फ प्रथम बुढीगंगाको मोरङ पब्लिक स्कुल र यजुनिर छात्रतर्फ विराटनगरको मोर्डन एरो स्कुल छ । सिनियरतर्फ छात्रमा विराटनगरको कान्तिपुर कलेजले र छात्रातर्फ पथरीको एभरेस्ट स्कुल प्रथम भएको छ ।

मोरङ रंगेलीको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुलले फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सनरेले जुनियरतर्फ र हरैचा मोडलले सिनियरबाट फुटबलको उपाधि जितेको हो ।

फाइनलमा सुन्दरहरैचाको सिद्धार्थ स्कुललाई २-० गोलले हराउँदै सनरेले फुटबलको उपाधि जितेको छ । जितको लागि सनरेको जीवन यादव र अनुज खवासले गोल गरे । सिनियरमा टाइब्रकरमा सेन्टजोसेफ स्कुललाई ५-४ गोलले हराउँदै हरैचा मोडलले फुटबलको उपाधि जितेको छ ।

जुनियरतर्फको बेस्ट गोलकिपर सनरेका इशान्त धिमाल, बेस्ट डिफेन्टर साहिल थारु, बेस्ट मिड फिल्डर जीवन यादव, बेस्ट फरवार्ड सिद्धार्थ स्कुलका प्रशान्त न्यौपाने भए । म्यान अफ द म्याच सनरे स्कुलका अनोज खवास र बेस्ट कोचमा सनरे स्कुलका प्रशान्त खवास घोषित भए ।

माघ २६ देखि २८ गतेसम्म सञ्चालन भएको प्याब्सन स्पोर्ट्स मिटमा मोरङ जिल्लाका २१० वटा प्याब्सन आबद्ध विद्यालयका ३ हजार बढी विद्यार्थीहरू दर्जन बढी प्रतियोगितामा सहभागी भएको अध्यक्ष प्रेमलालसिंह सुवालले बताएका छन् ।

विजेता हुने विद्यालयलाई समापनमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका निर्देशक नरेन्द्र ढकाल, प्याब्सन कोशी प्रदेश अध्यक्ष टिकाराम ढकाल, प्याबसन मोरङको निर्वतामान अध्यक्ष सीतला सुब्बाले पुरस्कार वितरण गरेका थिए ।