धरान : नेकपा माओवादी केन्द्रले मङ्गलवार धरानमा सहिदहरू, बेपत्ता भएकाहरूका परिवारलाई सम्मान र आर्थिक सहयोग गर्दै जनयुद्ध दिवस मनाएको छ ।

बिहान भानुचौकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा कुल १२० पिन्ट रगत सङ्कलन भएको थियो । साँझ सहिदहरूको सम्झनामा भानुचौकमा दीप प्रज्वलन गरिएको हो ।

माओवादी पार्टीको धरान नगर समितिले धरानमा रहेका १४ सहिद परिवार, २ बेपत्ता परिवार सहित १६ परिवारलाई आर्थिक सहयोग सहित सम्मानित गरेको छ ।

रक्तदान कार्यक्रम धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा भएको थियो । उनले युद्धमा घाइते तथा बेपत्ता परिवारलाई आरक्षणको व्यवस्था गर्दै जनयुद्धकै कारण देशमा विभिन्न कोटाको व्यवस्था भएको बताए ।

उनले भने ‘जनयुद्धको जगमा भएको परिवर्तनले आम जनताको जीवनमा आधारभूत परिवर्तनको अनुभूति गराएको छ ।’ नेपाली जनताका छोरा छोरीले दलित जनजाति कोटामा सरकारी कार्यालयमा नियुक्ति पाएकोलाई बिर्सन नहुने उनले बताए ।

नगर अध्यक्ष मनोज भट्टराईले धरान उपमहानगरपालिका एकल ढङ्गबाट अगाडी बढी रहेकोले अहिलेको आवश्यकता भनेको एकता र सहमतिको बनेको बताए ।

उनले भने ‘अहिलेको लडाई भनेको एकल मनपरी तन्त्रको विरुद्ध उपमहानगरपालिका सञ्चालनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सहकार्य बनेको छ।’

कार्यक्रममा रेडक्रस सोसाइटी सुनसरी अध्यक्ष उमेश थापा, जसपा नगर अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत नगर अध्यक्ष रेवती रमण राई लगायतको उपस्थिति थियो ।

जनयुद्ध दिवसको अवसरमा माओवादी पार्टीले सहिद र बेपत्ता भएकाहरूका परिवारलाई उनीहरूका घर घरमा पुगेर भेटघाट गर्दै सम्मान सहित आर्थिक सहयोग प्रदान गरेको हो ।

साँझ भानुचौकमा भएको दीप प्रज्वलन कार्यक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितको संयुक्त रूपमा भएको कार्यक्रम संयोजक उद्धव लिम्बुले जानकारी दिए । कार्यक्रममा विप्लवका नेता डिबि सिंह र उपमेयर बेघाले सम्बोधन गरेका थिए ।

maobadi-dharanmaobadi-dharan3