विराटनगर : पछिल्लो समय कोशी प्रदेशका राजधानी बनेको विराटनगर आसपासको नेपाल-भारत सिमाक्षेत्रमा लागूऔषध ओसारपसार, राजश्व चुहावटका घटना बढेको छ । मानव बेचबिखनका गम्भीर अपराधका नाकाको रूपमा पनि सिमाक्षेत्र प्रयोग हुने गरेको छ ।

सीमा क्षेत्रमा यस्ता संवेदनशील अपराध रोक्न सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले बताएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनीको बैठक कक्षको उद्घाटन कार्यक्रममा बुधवार मेयर कोइरालाले भने ‘राजस्व चुहावट, लागूऔषधको ओसार पसार नियन्त्रण, प्राकृतिक प्रकोपका समयमा उद्धारमा सशस्त्र प्रहरीको अग्रणी भूमिका रहेको छ ।’

स्थानीय तहसित सशस्त्र प्रहरीको समन्वय र सहकार्य अझै प्रभावकारी बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिए । मेयर कोइरालाले सशस्त्र प्रहरीले प्राकृतिक प्रकोपका समयमा उद्धार र सीमा सुरक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।  

मोरङको बूढीगंगा गाउँपालिका-१ टंकीसिनवारी स्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनीको नयाँ बैठक कक्ष निर्माण गरिएको हो । कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको बताए ।

गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरूको सहयोगमा बैठक कक्षको निर्माण भएकोमा आभार प्रकट गरे ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताए ।

सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी हेमकुमार पौडेललेका अनुसार गत मङ्सिर २९ गते शिलान्यास भएको बैठक कक्ष ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।