धरान : धरान-५ जनता चौक भोजपुरे मार्ग टोल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद दाहालको घर नजिक तोरी र परालको कुनिउँमा उच्छृंखल समूहले हिजो शनिवार राती सवा ११ बजेको समयमा आगजनी गरेका छ ।

आगजनीबाट ८० हजार रुपैयाँ बराबरको परालको कुनिउँ, दाइ गर्न राखिएको ५ मन जति तोरी जलेर नष्ट भएको छ । दहालका अनुसार ५० हजार रुपैयाँ बराबरको पराल र ३० हजार रुपैयाँ बराबरको २०० केजी तोरी क्षति भएको छ ।

आगलागी नियन्त्रण गर्न उपमहानगरपालिकाको दुईवटा दमकल समयमै आएकाले अन्य क्षति हुन नपाएको उनले बताए ।

परालको कुन्यू, घर, गाईको गोठ, कुखुराको खोर निजीकै थियो । दमकल समयमा नपुगेको भए जनधनको क्षति हुने दहालले बताए । स्थानीय युवाहरू, दमकलको सहयोगमा नियन्त्रण गर्न १ घण्टा लागेको थियो । आगजनी गर्नेहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।