विराटनगर : सन् २०२३ को मार्च देखि २०२४ को फेब्रुअरी सम्ममा विराटनगर-जोगबनी नेपाल-भारत नाकाबाट माइती नेपालले बेचबिखनमा परेका ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरेको छ ।

उक्त एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका ४२ र १८ वर्षभन्दा माथिका १३२ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा जानकारी दिएको हो ।

मानव बेचबिखन विषयक गोष्ठीमा माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले विराटनगरस्थित रानी नाकाबाट प्रतिवेदन प्रस्तुत गर्दै उनीहरूलाई उक्त जानकारी दिएका हुन ।

उनीहरू रोजगारी र साथी भेट्न जान लागेको बहानामा सीमा नाका पुगेका थिए । उद्धार गरिएका मध्ये मोरङका ५४ जना रहेको पोखरेलले बताए । त्यसमध्ये विराटनगर महानगरका ११ जना बालिकाको उद्धार गरिएको उनको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तह देखी नै बालबालिका र महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा देखिएको बताए ।

उनले भने ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी समस्या, देखासिकीका कारण बालबालिका,  महिला बेचबिखनमा पर्ने गरेको छ ।’

हप्ताको एक दिन सबै विद्यालय र कलेजमा बेचबिखन विरुद्ध सचेतना कक्षा सञ्चालन गरेर समस्या न्यूनीकरण गर्न सकिने धारणा प्रकट गरे । त्यसका लागि प्याब्सन, एन-प्याब्सन, हिसान सँग छलफल गरेर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

उपमेयर शिल्पा निराला कार्कीले मानव बेचबिखनको जोखिममा बढी बालबालिका भएका कारण अभिभावकहरू चनाखो हुनु जरुरी भएकोमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।

माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माका अनुसार सामाजिक सञ्जालको प्रयोग मार्फत दलालहरूले बालबालिका र महिलासम्म पहुँच विस्तार गर्ने गरेको देखिएको छ। दलालहरूले राम्रो जागिर दिने प्रलोभन देखाएर बालबालिका र महिलालाई भारत पुर्‍याउने गरेको उनको भनाइ छ ।