धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका मिर्गौला पीडित गायक धरान-११ का नौरान राईले उपचारका लागि आर्थिक समस्या परेकाले सहृदयीहरूसँग सहयोगको अपिल गरेका छन् ।

लोकप्रिय गीत ‘गुराँसको फेद मुनि, सम्झनाको छाया’ गीतबाट चर्चित राईको दुवै मिर्गौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार तिन पटक डायलिसिस गरे पछि थप अवस्था बारे जानकारी हुनेछ ।

राईलाई थप उपचारको लागि बाहिर लान परे पैसा नभएकोले सहयोगका लागि सञ्चार माध्यमबाट सबैलाई सहयोगका अपिल गरेका हुन् । लामो समय सङ्गीत क्षेत्रमा बिताएका उनले डेढ दर्जन गीत गाएका छन् । केही गीतमा सङ्गीत भरेका छन् ।

गायक राईको उपचारमा सहयोग गर्दै धरान-१७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनी धरान आएको वेला बिपी प्रतिष्ठान अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

मधुले सामाजिक सञ्जालमा नौरान राईको बारेमा थाहा पाएपछि तत्काल व्यक्तिगत रूपमा केही रकम सहयोग गरेको बताए । उपचारको लागि संस्थागत रूपमा धरान-१७ समाज हङकङले सहयोग अभियान चलाइने राईले बताए ।