धरान : आज दिउँसो १ बजे सुरु हुने भनिएको धरान उपमहानगरपालिकाको १२ औँ नगरसभा झन्डै ५ घण्टा पछि सुरु भएको थियो ।

त्यति ढिलो सुरु भएको नगर सभा ३ घण्टा पनि चलेन । ४ बजेर ३० मिनेट जाँदा नगरसभा सुरु भएको थियो । साँझ ६ बजेर ५० मिनेट जाँदा नगरसभा सकियो।

उपमहानगरपालिकाकी प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले भनिन् ‘साँझ परेपछि सबै जना नगरसभा सकियो भन्दै हिँडे ।’ यसअघि बोल्न चाहनेहरूको सङ्ख्या धेरै भएकोले रातभर लाग्न सक्ने बताएकी अधिकृत निरौलाले भनिन् ‘दिनभर पर्खिदा थाकेर होला सबै घर हिँड्नु भयो ।’

नगर सभाका के-के छलफल भए र निर्णयहरू के के भए ? भन्ने जानकारी माग्दा भोली उपमहानगरपालिकाको वेबसाइटमा सबै कुरा राखिने बताइन् ।

नगर सभा धरान-१० सैनिक भवनमा चलेको थियो । नगरसभामा प्रस्तुत गरिने संशोधित बजेटमा रकमान्तरको विषयलाई लिएर आज बिहान बसेको कार्यपालिका बैठकमा विवाद भएपछि नगरसभा ढिलो सुरु भएको थियो ।

मेयर हर्क साम्पाङले आफू सबैको उपमेयर आइन्द्रविक्रम बेघा सहित सम्पूर्ण वडा अध्यक्ष कार्यपालिका सदस्यहरूको सुपरभाइजर भएकोले आफूलाई नसोधी र नदेखाई केही कार्य नहुने भन्दै बैठक स्थगित गरेका थिए ।

स्थगित कार्यपालिकाको बैठक नै पुनः ३ बजे मात्र बसेको थियो । बैठकले गणपूरक सङ्ख्या, अघिल्लो कार्यपालिका बैठकको समीक्षा, विभिन्न वडागत महाशाखामा भएको कार्यक्रम संशोधन प्रस्ताव, विविधमा रहेको संशोधित खरिद गुरु योजना, अनुगमन प्रतिवेदन र आर्थिक सहयोग गरी कुल ३ वटा निर्णय गरेको थियो ।

कार्यपालिका बैठकले न्यायिक सम्पादन कार्यविधि २०७५ अस्वीकृत गरेको छ । न्यायिक कार्य सम्पादन ऐन र नियमावली निर्माण गरेपछि मात्र कार्यविधि निर्माण गर्ने निर्णय भएको हो ।

14th nagarsabha2