इनरुवा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार ढलेको खण्डमा कुनै दलसँग मिलेर सरकार बनाउने कुरा भएमा त्यसलाई अन्यथा नलिन नेता कार्यकर्ताहरूलाई अग्रिम जानकारी गराएका छन् ।

इनरुवामा बुधवार आयोजित बृहत् कार्यकर्ता भेलामा उनले सरकार ढलेर नयाँ सरकार बन्ने अवस्था आउँदा एमालेले कुनै दलसँग मिलेर सरकार बनाउने अवस्था आएमा त्यसलाई अन्यथा नलिन नेता कार्यकर्ताहरूलाई अग्रिम जानकारी गराएका हुन्  ।

उनले एमाले नेतृत्वको सरकार ढलेपछि देशमा राजनीतिक अस्थिरता छाएको, भ्रष्टाचार बढेको, अराजकता बढेको, अनेक प्रकारका खराबीहरू भित्रिएको, अर्थतन्त्र चौपट भएको बताए । त्यसैले पनि सरकार बनाउने अवस्था आए एमालेले गठबन्धन गर्न सक्ने बताएका हुन् ।

उनले सरकारमा इमानदारिता र सुशासन कायम गर्न नसक्दा मुलुक अधोगतिमा गएको बताए । पूर्व प्रधानमन्त्री ओलीले भने, ‘एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशमा विकास हुँदैन, देश विकासको लागि एमालेको एकल बहुमतको सरकार आवश्यक छ ।’

उनले भने, ‘एउटा चुनाव देखी अर्को चुनावसम्मका लागि मात्रै एमाले पार्टी होइन ।’ आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने उनले दाबी गरे । अध्यक्ष ओलीले पार्टीको सन्देश सुनाउँदै आम जनताको भावना बुझ्न पार्टीले अभियानहरू सञ्चालन गरेको र त्यसबाट आएको सुझावको आधारमा नीति लिएको बताए ।