वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सिलाई कटाई तालिम सञ्चालन गरेको छ । महिलालाई स्वरोजगार सँगै उद्यमी बनाउनका लागि सिलाई कटाई तालिम नगरपालिकाले सञ्चालन गरेको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१  सालको वार्षिक स्वीकृत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका वडा नं २ र वडा नं ३ महिलालाई सिलाई कटाई तालिम प्रदान सञ्चालन भइरहेको छ ।

सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताका अनुसार गरिब तथा विपन्न महिलाहरूलाई घरमै बसेर आम्दानी गर्न सक्ने गरी सीप दिने उद्देश्यका साथ प्राविधिक सीप विकास तालिम अन्तरगत आधारभूत सिलाई कटाई तालिम २ महिनासम्म सञ्चालन हुनेछ ।

महिलाहरूले सिकेको सिपलाई व्यवहारिक रूपमा प्रयोग गराउन नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । नगरपालिकाले महिलाहरूलाई स्वरोजगारसँगै उद्यमी समेत बन्न सिलाई कटाई, जुत्ता चप्पल बनाउने तालिम, विद्यार्थीहरूलाई कम्प्युटर, लोकसेवा, कुक सम्बन्धी सिपहरू सिकाई स्वरोजगार बनाउन प्रेरित गरी राखेको नगर प्रमुख कार्कीको भनाइ छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका अन्य वडाहरूमा पनि यस्तै सीप मूलक तालिमहरू सञ्चालन गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले बताए ।