धरान : राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले कोशी नाम खारेज आन्दोलन जारी रहेकोले इलाममा हुने उपनिर्वाचनको प्रचारमा आए प्रदेशका ८२ सांसद सहित एमालेका ३ नेतालाई प्रवेश निषेध गरिने बताएका छन् ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आव्हानमा बिहीबार धरानमा भएको विरोध सभामा उनले कोशी नाम खारेज नभए सम्म आन्दोलन जारी रहेको बताउँदै भने ‘इलाममा हुन गइरहेको उपचुनावमा पहिचान विरोधी नामकरण गर्ने प्रदेशका ८८ सांसद र प्लस ३ नेतालाई चुनाव प्रचारमा प्रवेश निषेध गर्नेछौँ ।’
प्रदेश १ को नामकरण कोशी भएको विरोधमा सुरु भएको आन्दोलन १ वर्ष पुगेको दिनलाई 'अँध्यारो दिन' घोषित गर्दै संयुक्त सङ्घर्ष समितिले आज प्रदेशको १४ जिल्ला र काठमाडौँमा विरोध जुलुस र सभा आयोजना गरेको हो ।
भानुचौकमा भएको सभामा अध्यक्ष पालुङवाले प्रदेश सरकारसँग भइरहेको वार्ताको बारेमा भने 'कोशी प्रदेश नाम खारेजी आन्दोलनको पहिलो माग हो, नामकरण त्यस पछि आउने छलफलको विषय हो ।'
‘अँध्यारो दिन’ मनाउन धरानमा पहिचानका लागि युवा दस्ताले छाता चौक देखी भानुचौक सम्म विरोध र्‍याली प्रदर्शन गरेको हो । भानुचौकमा सभा हुनु अघि र्‍यालीका सहभागीहरूले कोशी प्रदेश नामकरणमा सहभागी मुख्यमन्त्रीहरू र नेताको पुत्ला दहन गरेका थिए ।
वर्तमान मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश नामाङ्कन हुँदाका मुख्यमन्त्री हिक्मत कार्की र उद्धव थापाका साथै नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोको पुत्ला दहन गरिएको हो ।
विरोध सभामा जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावतीले माओवादीका इन्द्र आङबोले कोशी नामको विरोध गर्दै आए पनि अन्तमा कोशी नाममा मतदान गरेर आन्दोलनलाई धोका दिएको बताए ।
‘पहिचानको लागि युवा’का संयोजक राम के राईले पहिचान प्राप्तिका लागि आज मुख्यमन्त्रीको पुत्ला जलाइएको छ, कोशी नाम खारेज नभए भोलीका दिनमा मान्छे नै जलाउन समेत आन्दोलनकारी तयार रहेको बताए ।
विरोध सभामा नगरिक उन्मुक्ति पार्टीको केन्द्रीय सह-सचिव अमर ईजम, किरात याक्थुङ चुम्लुङबाट चन्द्रमाया लिम्बू, किरात राई यायोक्खाबाट जिल्ला सह-सचिव शम्भु पृथक् राई, सलोरामबाट भूपेन्द्र सुन्दर लावतीले बोलेका थिए ।