धरान : इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ मा हुन गइरहेको उपनिर्वाचनमा पहिचानवादीको साझा उम्मेदवारको बारेमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले एक सूत्रीय शर्त अघि सारेका छन् ।

चुनावमा कोशी खारेज प्रदेश नं.१ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले पहिचानवादी साझा उम्मेदवार खडा गर्ने चर्चा चलिरहेको बेला लिङ्देनले आज बुधवार धरानमा आयोजित पत्रकार सम्मेलनमा एक सूत्रीय शर्त सार्वजनिक गरेका हुन ।

सम्भावित उम्मेदवारको दाबेदार रहेका अध्यक्ष लिङ्देनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘इलाम क्षेत्र नं.२ को उपनिर्वाचनमा संयुक्त सङ्घर्ष समितिको साझा उम्मेदवार हुनेछ, जो उम्मेदवार भएपनि लिम्बुवान र गणतन्त्रको पक्षमा उहाँको प्रष्ट धारणा आएको हुनुपर्ने छ।’

‘यदि भूमि र मित्र छान्न पर्ने अवस्था आएमा जति नै अलोकप्रिय भए पनि यस मञ्चले सधैँ भूमि छान्दै आएको तितो सत्य जगजाहेर छ’ वक्तव्यमा भनिएको छ ।

मञ्चले कोशी प्रदेश नामकरण खारेजी आन्दोलनलाई सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको उनले बताए । 'नो कोशी' आन्दोलनका सहिद मञ्चका पूर्व संसदीय उम्मेदवार तथा कमान्डर लाजेहांग लिम्बुको स्मृतिलाई चिरकाल सम्म अमर बनाउन प्रतिष्ठान निर्माण गरी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनका अनुसार प्रदेश नं.१ को साझा पहिचानवादी नाम लिम्बुवान किरात शेर्पा प्रान्त उपयुक्त हुने मञ्चले ठहर गरेको छ । साथै विशेष स्वायत्त क्षेत्रहरूको पनि स्पष्ट व्याख्या गरिने उनले बताए ।

अध्यक्ष लिङ्देनले लिम्बुवान नाम बेगरको प्रदेश नं.१ को पुनः नामकरणको पनि हल्ला आएको उल्लेख गर्दै भने ‘तर लिम्बुवान नाम बेगरको पुनः नामकरण कुनै हालतमा सम्भव नहुने मञ्चले प्रष्ट अडान राख्दै आएको छ ।’

सरकारले पहिचान साझा नाम राख्नुको साटो अड्को थापेर वार्तालाई असफल बनाउन आँट्यो भनेर पूर्व मुख्यमन्त्री राजेन्द्र राई संलग्न नेकपा समाजवादी पार्टीका संसद्मा दर्ता गराएको आरोप लगाए ।

उनले ४ भोट प्राप्त गरेको लिम्बुवान किरातलाई मिलन बिन्दु बनाएर भए पनि छलफल अघि बढाएर प्रदेश सभामा पुन भोटिङ व्यवस्था गर्नुपर्ने बताए ।