धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बिहीबार पूनः पद बहाली गरेका छन् ।

विशेष अदालतमा मुद्दा परेपछि निलम्बनमा रहेका उपकुलपति गिरीले सफाइ पाएपछि पूनः पद बहाली गरेका हुन ।

प्रतिष्ठानका सहप्रवक्त डा.अरुण कुमार सिंहले प्रेस वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन । वक्तव्य अनुसार विशेष अदालतको फागुन १६ गतेको फैसलाबाट उपकुलपति गिरीले सफाइ पाए लगत्तै बिहीबार प्रतिष्ठानमा हाजिर भई पद बहाली गरेका छन् । 

प्रतिष्ठानमा उपकुलपतिलाई प्रतिष्ठानका  शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीन, विभागीय प्रमुखहरू, शाखा प्रमुखहरू, शिक्षक, कर्मचारीहरू लगायत विद्यार्थीहरूले स्वागत गरेका थिए ।  

यस अघि का.मु. उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीज्यूले बिहीबारै प्रेस विज्ञप्ति जारी गर्दै ८ महिना कामु उपकुलपति रहँदा सहयोग प्राप्त भएकोमा प्रतिष्ठान परिवार, नागरिक समाज राजनैतिक दल, सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरेका छन् । 

प्राडा. कार्कीले विशेष अदालतबाट सफाइ पाएर उपकुलपति पदमा पुनः स्थापित भएकामा डा.ज्ञानेन्द्र गिरीलाई बधाई ज्ञापन गरेका छन् ।