धरान : मोरङको बेलबारी-१ राजमार्गमा आज बिहान टिपरले बसलाई ठक्कर दिँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । घट्नामा २ जना गम्भीर घाइते भएका छन् ।

राजमार्गमा पूर्व जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिम तिर आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिएको हो । दुर्घटनामा टिपरले अनियन्त्रित भई अर्को मे १ ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको थियो ।

दुर्घटनामा बोलेरोका ५ जना घाइते भएका थिए । घाइतेहरूलाई उद्धार गरी उपचारार्थ कोशी अस्पताल विराटनगर पुराएकोमा बोलेरो चालक बिर्तामोड-२ का ३६ वर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ वर्षीय दिपा खानालको मृत्यु भएको छ ।

घटनामा घाइते बिर्तामोड-२ की ४८ वर्षीय गायत्री भट्टराई र बिर्तामोड-४ का ४६ वर्षीय हरि खनालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा-७ का २३ वर्षीय चन्द्र कुमार बिक र बस चालक सुन्दरहरैचा-१२ का ४५ वर्षीय छत्र कुमार मास्केलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।