इटहरी : नेपाली जुत्ता चप्पल उत्पादकहरूले इटहरीमा सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्ष स्थापना गर्ने भएका छन् । नेपाली जुत्ता चप्पल उत्पादन गर्दै आएका उद्योगीहरूले ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध होस भनेर बिक्री कक्ष स्थापना गर्न लागेका हुन् ।

सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू उपलब्ध हुने सोमबार भएको पत्रकार सम्मेलनमा सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्षका सञ्चालक नानीराज घिमिरेले बताए ।

बिक्री कक्षमा तीन हजार मोडलका जुत्ता चप्पल पाइने छन् । बिक्री कक्ष स्थापनाका लागि आवश्यक पर्ने कागजी प्रक्रिया पुरा भएको अर्का सञ्चालक होमनाथ उपाध्यायले बताए । एउटै बिक्री कक्षबाट ६ वटा ब्रान्डका जुत्ताहरू छानी छानी किन्न सकिने उपाध्यायले बताए । यसअघि नेपालका विभिन्न सहरहरूमा सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्ष सञ्चालनमा आएका छन् । इटहरीमा पनि सस्तो मूल्यमा एकै स्थानबाट जुत्ता चप्पल किन्न सजिलो होस भनेर विक्री कक्ष स्थापना गरिएको उपाध्यायले बताए ।

बिक्री कक्षमा १५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ । नेपाली जुत्ता चप्पल पनि बलिया राम्रा डिजाइनका र सस्ता छन् भनेर ग्राहकलाई बुझाउन सामूहिक बिक्री कक्षको अवधारणा ल्याएको अर्का सञ्चालक रिजवान उल्लाहले बताए ।

यसअघि इटहरीमा प्रथम फागुन १३ गतेबाट जुत्ता चप्पल व्यापार महोत्सव सञ्चालन हुँदै आएको छ । इटहरीको पश्चिम लाइनमा रहेको म्याजिक स्टेण्ड छेउमा सञ्चालनमा रहेको महोत्सव मङ्गलवारबाट सम्पन्न हुने र सोही स्थानमा बिक्री कक्षको स्थापना गरिने छ ।

महोत्सव ३५ दिनका लागि सञ्चालन गर्ने अनुमति लिए पनि स्थानीय व्यापारीको अनुरोधमा १० दिनमा झार्दै बिक्री कक्ष स्थापना गर्न लागिएको नानीराज घिमिरेले बताए । महोत्सवको आज सम्म ७५ हजार बढिले अवलोकन गरेका छन् । महोत्सवमा ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको आयोजकले जनाएका छन् ।