धरान : प्रधानमन्त्री पुष्पकमल दाहालले चमत्कारिक रूपमा गठबन्धन बदलेर पुनर्गठन गरेको मन्त्री परिषदमा ३ जना मन्त्रीले शपथ ग्रहण गरे पनि सरकारको सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै लिएका छन् ।

आज शपथ ग्रहण गरेका मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त भएका ३ जनालाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल छन् । उनीहरूको मन्त्रालय तथा कार्यभार तोकिएको छैन । राष्ट्रपति कार्यालयले उनीहरूको कार्यभार पछि तोकिने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा आज पुनर्गठित मन्त्रिपरिषद् र कार्य विभाजनमा प्रधानमन्त्री दाहालले नै अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात लगायत नेपाल सरकार सबै मन्त्रालयको कार्यभार सम्हाल्ने जनाइएको छ ।