वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाले ३ दिवसीय विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

साबिकका ५ वटा गाउँ विकास समितिहरू मिलेर २०७३ साल फाल्गुन २७ गते हालको वराहक्षेत्र तत्कालीन वराह नगरपालिका सुनसरीको कान्छो नगरपालिकाको रूपमा घोषणा भएको थियो ।

नगर प्रमुख रमेश कार्कीका अनुसार कार्यपालिका बैठक मार्फत नगरपालिका स्थापना दिवस मनाउने निर्णय भएको छ । स्थापना दिवसको अवसरमा २६, २७ र २८ गते साँझ नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा दीप प्रज्वलन कार्यक्रम गरिने छ ।

त्यस्तै २६ गते रक्तदान र माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला आयोजना गरिनेछ । २७ गते वृहत् सरसफाइ र २८ गते नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना हुनेछ ।

चतराधाममा आयोजना हुने कुम्भ मेलाको महत्त्व शीर्षकमा नगरपालिकाको हलमा हुने वक्तृत्वकला शिक्षा युवा तथा खेलकुद विकास समितिको समन्वयमा हुनेछ ।

त्यस्तै वडा नं १ चतराधाम कुम्भ मेला स्थलमा बृहत् सरसफाइ र स्वास्थ्य शिविर सामाजिक विकास शाखा र कुम्भ मेलाको प्रचारप्रसारका लागि वडा नं १ चतरामा रोड रेस प्रतियोगिता खेलकुद विकास समितिको आयोजनामा गरिनेछ ।

२०७३ फाल्गुन २७ गते साबिकका वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो ।

नगरपालिका घोषणा भएको अवसरलाई उत्सवको रूपमा लिएर आठौँ स्थापना दिवस मनाउने निर्णय गरिएको वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले जानकारी दिए ।