इटहरी : नेपाल युवा उद्यमी मञ्च सुनसरीले कर्पोरेट फुटसल प्रतियोगिता गर्ने भएको छ । मञ्चले बुधवार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको फुटसल प्रतियोगिता गर्ने जनाएको हो ।

फागुन २५ देखी २८ गतेसम्म कर्पोरेट फुटसल प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले पचास हजार नगद पाउने भएका छन् । कोसी प्रदेशका विभिन्न एक दर्जन वित्तीय सङ्घ संस्थाले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

इटहरी काब्यबाटिकास्थित पाथीभरा फुटसलमा हुने प्रतियोगितामा मैत्रीपूर्ण खेल समेत समावेश गर्ने आयोजकले जानकारी दिएको छ । बिवाइडी गाडी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नविल बैङ्क र गोर्खा होटेलले विशेष प्रायोजन गरेका छन् । प्रवेश निःशुल्क राखिएको खेललाई अन्य विभिन्न संस्थाले पार्टनरको रूपमा सहयोग गरेका छन् ।

विधागत उत्कृष्ट हुने खेलाडीले जनही नगद १० हजार प्रदान गरिने भएको छ । ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम इटहरीस्थित सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने बताइएको छ ।