धरान : तत्कालीन पाँचकन्या गाविसमा रहेको हाल धरान वडा ६ मा पर्ने पानवारीमा बस्ती बसेको सय वर्ष पुगेकामा पानवारी शतवार्षिक महोत्सव मनाइने भएको छ ।

महोत्सव फागुन २६ देखि चैत २ गते सम्म सरस्वती मार्गमा हुने आयोजक सयपत्री व्याइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले बताए । उनका अनुसार महोत्सव क्लब र धरान-६ वडा कार्यालयको संयोजनमा हुने भएको हो ।

नयाँ पुस्तालाई पानवारीको इतिहासलाई बुझाउन महोत्सवले सहयोग गर्ने उनले बताए । रुम्दालीले भने ‘पानवारी बसोबासको आधारले सय वर्ष पुगेको छ ।’

पानवारीको सिमाना मोरङ जिल्लाको केराबारी गाउँपालिकासँग जोडिएको छ । सुनसरी-१ ‘क’का प्रदेश सांसद पूर्व अध्यक्ष रमेश कुमार बस्नेतका अनुसार अग्रजहरूले विक्रम सम्बत १९७०-८० को दशकदेखि पानवारी बसोबास सुरु भएको इतिहास उल्लेख गर्दै आएका छन् ।

उनले भने ‘लिखत प्रमाण छैन, तर अग्रजहरूको भनाई अनुसार हालको धरान-४ हर्दिया, तेलनपुरका मगरहरू, चौबिसे क्षेत्र, पूर्वी पहाडीबाट बसाई सरेर आएकाहरूबाट पानवारी बस्ती विकास भएको हो ।’

हाल पानवारीमा सहरी विकासको झलक देखिन्छ । मदन भण्डारी राजमार्ग पानवारी हुँदै जाने भएकाले विकासको सम्भावना बढेर गएको सांसद बस्नेत बताउँछन् ।

महोत्सवका बिच कोशी प्रदेश स्तरीय छैंठौ भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता क्लबको वार्षिक कार्यक्रम हो । प्रतियोगितामा विजयी टिमलाई १ लाख रुपया र ३५ तोला चाँदीको रनिङ शिल्ड  प्रमाणपत्र प्रदान गरिने छ ।

उपविजेताले नगद ५० हजार र प्रमाणपत्र पाउने क्लबका महासचिव केदार बस्नेतले बताए । उनका अनुसार महोत्सवमा रस्सी तान, रोटेपिङ, नाउ र ड्रागन,स्थानीय उत्पादन र सहुलियत बजार,दैनिक साँझ राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति हुनेछन् ।

महोत्सवमा कविता र नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी र सांस्कृतिक र्‍याली, निःशुल्क स्वास्थ्य शिविर पनि हुने बताइएको छ ।

पानवारी धरानको कृषि क्षेत्रको उर्वरभुमि हो । पानमारा मन्सुली चामल अहिले पनि ब्राण्डको रूपमा बजारमा पाइन्छ । पानवारी सहित साबिक पाँचकन्या गाविसका वडा १, २ र ३ लाई समायोजन गरेर धरान वडा ६ कायम गरिएको हो ।