इटहरी : इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता कुमारी चौधरीले दिवा खाजामा मनपरी भएको बताएकी छिन् । सुरुवात देखिनै विवादित बन्दै आएको दिवा खाजा कार्यक्रममा उपमेयर चौधरीले समेत असन्तुष्टि व्यक्त गरेकी हुन् । ‘सडेको केरा, सडेको अङ्गुर खुवाएर विद्यार्थीको हेल्थमा सुधार ल्याउन खोजेको कि उनीहरूको हेल्थमा खेलबाड गर्न खोजेको ?’, उनको प्रश्न छ ।

गत मङ्सिर २४ गतेदेखि उपमहानगरपालिकाले तोके अनुसारको खाजा वितरण सुरु भएको हो । सुरुवातमा खाजाको गुणस्तर र परिमाणमा चौतर्फी आलोचना भएपछि स्थानीय क्याटरिङ व्यवसायीको सहयोगमा खाजा वितरण भएको थियो ।

सङ्घीय सरकारको दुई करोड र स्थानीय सरकारको ३ करोड ६६ लाख लागतमा दिवा खाजा व्यवस्थापन गरिएको हो । एरिना बेन्क्वेट प्रालीले टेन्डर मार्फत विद्यालयमा खाजा वितरण गरिरहेको छ ।

जसको गुणस्तरको विषयमा उपमेयरले प्रश्न उठाएकी हुन् । बुधवार इटहरी उपमहानगरपालिकाले गरेको वृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रममा उनले शिक्षा सुधारमा भएका गतिविधिको आलोचना गरिन् ।

शिक्षा सुधार वर्ष घोषणा गरेको उपमहानगरले सम्पूर्ण विद्यालयका विद्यार्थीलाई एकै प्रकारको पोसाक अनिवार्य गरेको छ । सोही विषयमा उपमेयर चौधरीले स्थानीय सरकारले किनेर नदिए अभिभावकले नयाँ पोसाक खरिद गर्न नसक्ने बताइन् ।

सरकारले सबैको हकहितको लागि बोल्नुपर्ने भन्दै उनले एउटा पक्षलाई पेलेर शैक्षिक सुधार नहुने प्रस्ट पारिन् । ‘सामुदायिक विद्यालयमा राम्रोलाई भन्दा हाम्रोलाई ध्यान दिने काम भएको छ । कसैलाई पेलेर शिक्षामा सुधार हुँदैन मेयर ज्यु !,’ मेयर हेमकर्ण पौडेल प्रति इङ्गित गर्दै उनले भनिन्, ‘सामुदायिक विद्यालयमा विकृति देखिएको छ । विद्यार्थीको पोसाक सरकारले किन्दियो भने मात्र एकरूपता हुन्छ । एक छाक खाने हैसियत नभएका अभिभावकले नयाँ पोसाक कसरी किन्न सक्छन् ।’

कार्यक्रममा मेयर पौडेलले सङ्कल्प पत्र प्रस्तुत गरेका थिए । सङ्कल्प पत्र तयार पार्दा समेत आफू सँग छलफल नभएको उपमेयर चौधरीको गुनासो छ । कुनै कार्यपालिका सदस्य सँग छलफल नगरी संकल्पपत्र तयार पारिएको उनको भनाइ छ ।

सबैले हातेमालो गरेर मात्र शिक्षामा सुधार हुने बताउँदै चौधरीले धनी र सम्पन्नले सहयोग लिएर अङ्ग्रेजी माध्यममा पढ्न पाउने तर गरिब विद्यार्थीले नेपाली माध्यममा पनि बढ्न सक्ने अवस्था नभएको उनको दुखेसो छ । शिक्षा समितिका सदस्यहरू सँग समेत छलफल नभएको उनले आरोप लगाइन् ।

उपमेयरको भनाइलाई पुष्टि गर्दै प्याब्सन इटहरीका अध्यक्ष राजकुमार सापकोटाले भने, ‘शिक्षा समितिको सदस्य भएर पनि औपचारिक जानकारी आएन । संस्थागत विद्यालयको तर्फबाट म प्रतिनिधि हुँ तर कुनै छलफल भएको छैन ।’ उपमहानगरको अन्तरक्रिया कार्यक्रम संस्थागत विद्यालयका सञ्चालकहरूले बहिस्कार गरेका थिए ।