इटहरी : इटहरी-विराटनगर-धरान सडक खण्ड अन्तर्गत इटहरीको खनार चोकमा हिजो शुक्रवार भएको सवारी दुर्घटनामा बेलबारी–८ का काका भतिजको मृत्यु भएको छ।

विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्र १-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-००१ क ३९७८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी-८, बरियातीझारका २३ वर्षीय विपिन दाहाल र मोटरसाइकल पछाडि सवार उनका भतिज ६ वर्षीय अबि दाहालको मृत्यु भएको हो ।

दिनको २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएको उनीहरूको उपचारको क्रममा विराटनगर स्थित कोसी अस्पतालमा शुक्रवार साँझ मृत्यु भएको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।ट्रक चालक इटहरी-२ बस्ने ३० वर्षीय प्रदीप कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।