वराहक्षेत्र :आठौँ स्थापना दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ। शनिवार बिहान नगरपालिकाले कार्यालय परिसरमा रक्तदान र वक्तृत्वकला प्रतियोगिता आयोजना भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरी तथा नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगर उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको थियो ।

त्यस्तै शनिवार नै नेपालमा कुम्भ मेला विषयक माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा वडा नं.१ चतरामा रहेको राधाकृष्ण संस्कृति गुरुकुल माध्यमिक विद्यालयका सुशन आचार्य प्रथम भए ।

त्यस्तै द्वितीय महेन्द्र मावि तित्रिगाछिकी उषा भट्टराई, महेन्द्र मावि चक्रघट्टीका तारानाथ चौलागाई तृतीय र जगन्नाथ डेजराज जनता माध्यमिक विद्यालयका गणेश कटुवाल सान्त्वना हुन सफल भएका थिए । उनीहरूलाई नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्ल लगायतले नगद सहित प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

२०७३ फाल्गुन २७ गते साविक वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो ।नगरपालिका घोषणा भएको अवसरलाई उत्सवको रूपमा लिएर आठौँ स्थापना दिवस मनाउने निर्णय गरिएको वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले बताए ।

स्थापना दिवसको अवसरमा २६, २७ र २८ गते साँझ नगरपालिकाको कार्यालय र वडा कार्यलयहरुमा दीप प्रज्वलन कार्यक्रम गरिने छ । त्यस्तै २७ गते वृहत् सरसफाइ र २८ गते नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना हुनेछ ।

BAraha Nagar sthapana diwas