धरान : आयोजक धरान फुटबल क्लबले २४ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतलाई सडेन डेथमा पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।

पेनाल्टीमा पनि ५-५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा धरान १०-९ गोल अन्तरले विजयी भएको हो । यसअघि निर्धारित समयको ५९ औ मिनेटमा धरानका मिलन राईले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ७३ औ मिनेटमा युकेएफसीका नयन प्रधानले गोल फर्काएका थिए।

खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ घोषित भए । भोलीको खेल न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लब बिच हुनेछ ।