धरान : दुवै मिर्गौला फेल भएका वराहक्षेत्र-१ सूर्यकुण्डका हेमकुमार राईलाई नेपाली काँग्रेस वडा १ समितिले ३६ हजार ५३० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने त्यसको लागि ५ लाख खर्च हुने बताएको छ । प्रत्यारोपण पछि केयरिङमा समेत धेरै खर्च हुने भएकोले पीडित राईले सबैसँग सहयोगको याचना गरेका छन् ।

बोन ड्यामेज र प्याराथाइराइड रोग निको हुने अवस्थामा पुगेका वेला उनको दुवै मिर्गौला काम नगर्ने भएको हो । मिर्गौला प्रत्यारोपण समयमा भएमा पुनः निको हुने चिकित्सकले बताएको समेत राईले बताए ।

काँग्रेस वडा समितिद्वारा सङ्कलित रकम पीडित राईलाई काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले वडा सभापति ईश्वर थापा सहित सहयोगीहरूलाई धन्यवाद दिँदै आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वराहक्षेत्र-१ चतरा सिंहदेवी थानका राई पूर्व शिक्षक, काँग्रेसका स्थानीय नेता तथा सामाजिक अगुवा हुन् ।