धरान : न्युरोड टिम एनआरटी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आइतबार भएको दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

विजयी टिम एनआरटीका लागि शिशिर लेखी र अफिज ओलावालेले १–१ गोल गरे । लेखीले खेलको १४ औँ मिनेटमा र ओलावालेले ६० औँ मिनेटमा गोल गरेका हुन ।

आर्मीका लागी मानबहादुर आले मगरले १ गोल गरे । उनले खेलको ५ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजयी टिम एनआरटीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार पाए ।

सोमबारको तेस्रो क्वाटर फाइनल खेल अर्को विभागीय टिम नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घ बिच हुने आयोजकले जनाएको छ।

यसअघि हिजो शनिवार भएको उद्घाटन खेलमा पाहुना टोली भारतको यूकेएफसीलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

नेपालका ७ र एक भारतीय सहित ८ टिमको सहभागिता रहेको गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

24th-budhasubba-goldcup-day