धरान : प्रकाशित, प्रसारित समाचारमा चित्त नबुझे उजुरी गर्ने निकाय, कानुनी प्रक्रिया हुँदाहुँदै पत्रकार, सञ्चारकर्मीलाई भौतिक आक्रमण गर्ने आशयको धम्की, गालीगलौज गर्ने कार्यलाई निरुत्साहित गर्न पत्रकार महासङ्घ अब वक्तव्य जारी गरेर चुप बस्ने छैन ।

सम्बन्धित व्यक्ति, पदाधिकारीलाई कानुनी दायरामा ल्याएर कारबाही गराउन सम्बन्धित निकाय, प्रहरी, प्रशासनलाई झकझकाउने कार्य पनि गर्न महासङ्घ क्रियाशील भएको छ । महासङ्घ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको लागि अग्रसर भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर डा.रोशन कलवारले उनको फेसबुक मार्फत पत्रकारलाई दिएको भौतिक आक्रमण गर्ने आशयको धम्की, गालीगलौजको कानुनी सुनवाइ गर्न महासङ्घको टोलीले आइतबार उक्त प्रक्रिया अपनाएको हो ।

समाचार लेखकै कारण प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर डाक्टर रोशन कलवारले कपुरी न्यूजकी पत्रकार रश्मि प्रधान र ब्लाष्ट दैनिकका सम्वाददाता खिलानाथ विश्वकर्मालाई सामाजिक सञ्जाल मार्फत दिएको धम्कीको विरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई सहितको टोलीले कारबाहीको माग गरेको छ ।

लिखित रूपमा कारबाहीको माग कलवार कार्यरत वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरे, इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी नवराज मल्लसँग गरिएको हो ।

पत्रकार, सञ्चारकर्मीको टोली इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरान पुगेर धम्की दिने मानिस पक्राउ गरी कानुन अनुसार आवश्यक कारबाही शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन निवेदन पत्र बुझाएको छ ।

टोलीले वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै डा. कलवारलाई ऐन, नियममा भएको व्यवस्था बमोजिम कारबाही गर्न माग गरेको छ ।

पत्रकारको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उपकुलपति डा. गिरिले कारबाहीको प्रक्रिया सुरु भएको बताउँदै भने ‘कार्यकारिणी समितिको  बैठक राखेर डाक्टर कलवारलाई आवश्यक कारबाहीको प्रक्रिया सुरु गरेको छु ।’ 

VC-gypan-patraनेपाल पत्रकार महासङ्घ सुनसरीले प्रतिष्ठानका उपकुलपतिलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्ण पाठ यस्तो छ :

देशकै गौरव पूर्वको रेफरल सेन्टरको रूपमा परिचित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘ननप्राक्टिक्सिङ संस्था’ भएको सबैलाई विदितै छ ।

मिति २०८० फागुन २५ गते प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पनि यो विषय उल्लेख भएको छ।

तर, यस अस्पतालका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर डा. रोशन प्रसाद कलवारले प्रतिष्ठानको प्रवेशद्वार नजिकै टाटा डाइग्नोस्टिक सेन्टर सञ्चालनमा गरिरहेका छन् ।

यो विषय सार्वजनिक सरोकारको विषय भएकोले धरानको ब्लाष्ट टाइम्स दैनिक र कपुरी न्यूज डटकम अनलाइनले समाचार प्रकाशित गरेका थिए । प्रकाशित समाचारका विषयलाई लिएर डा. कलवारले पत्रकार खिलानाथ विक र रश्मि प्रधानलाई सामाजिक सञ्जालमार्फत विभिन्न लाञ्छना, धाक धम्की तथा गाली बेइज्जती गरिरहेको स्पष्ट पार्न चाहन्छौ ।

कानुनतः गर्न नमिल्ने कार्य गरेर पत्रकारहरूमाथि नचाहिँदो भ्रम सिर्जना गरी आफूलाई चोख्याउने किसिमले दुष्प्रचार गरेकोप्रति हाम्रो गम्भीर आपत्ति छ ।

डा. कलवारले सामाजिक सञ्जालमा जुन किसिमले पत्रकारहरूमाथि गालीगलौज गर्ने, मानहानि तथा बेइज्जती गर्ने काम गरेका छन् त्यो विषयमा मुलुकी अपराध संहिता २०७४ को गाली बेइज्जती सम्बन्धी कसुरको दफा ३०६ को २ (क)ले गाली बेइज्जती सम्बन्धी कसुर मानेको छ ।

त्यस्तै विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ का १ ले पनि कसैको मानहानि हुने किसिमले गरिएको कार्यलाई साइबर अपराध भनी परिभाषित गरेको छ ।

समाचार लेखेको विषयलाई लिएर मानहानि भएको भए कानूनी बाटो अवलम्बन गर्ने अधिकार नेपालको कानून तथा संविधानले प्रष्ट दिएको छ । तर त्यसो नगरी सामाजिक सञ्जालमार्फत धाक धम्की र बेइज्जती गर्ने कार्य निन्दनीय छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ दफा  १२ को उपदफा २ को १ मा भएको व्यवस्था र व्यवस्था उपर गरिएको स्पष्टिकरणलाई डा. कलवारले चुनौति दिदैँ मेडिकल व्यवसाय गरेको देखिएको (समाचारमा आफैले स्वीकार गरेको) प्रति प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै उक्त विषयमा निष्पक्ष छानबिन गरी ऐनमा भएको व्यवस्था बमोजिम कारबाही होस भनी जोडदार माग गर्दछौं ।

Anuj-ghimire-ilakadeligation-patrakar-mahasan