धरान : विभागीय टिम नेपाल पुलिस क्लब २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलबाटै बाहिरिएको छ ।

धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटर फाइनलमा एन्फा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै पुलिस पहिलो खेलबाटै बाहिरिएको हो ।

पुलिसलाई पराजित गर्न मोरङका महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे । प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन ।

दोस्रो हाफमा पुलिसमाथी दबाब बढाएको मोरङका लागि मेहन्द्रले ७० औँ मिनेटमा साइमन लिम्बुले प्रहार गरेको फ्रिकिकलाई हेड मार्फत गोल गरेका थिए । ८० औँ मिनेटमा पुलिसका सञ्जीव लामाले मोरङका मौसम लिम्बुलाई डिएरियामा लडाएपछि रेफ्री मनिष अधिकारीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई उमेशले सहजै गोल गरे ।

मोरङका लागि खेलको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा सुशीलले गोल गरेपछि पुलिस ३-० ले स्तब्ध भएको हो ।

आजको जीतसँगै मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले नगद १० हजार पाए ।

प्रतियोगिता अन्तर्गत मङ्गलवारको अन्तिम क्वाटर फाइनलमा झापा गोल्डकप विजेता चर्च ब्वाईज क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच हुने आयोजकले जनाएको छ ।

चैत्र ३ गतेसम्म चल्ने गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।