धरान : झापा गोल्डकप च्याम्पियन चर्च ब्वाईज युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

धरान रङ्गशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटर फाइनलमा चर्च ब्वाईज युनाइटेड झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर माथि १-० गोल अन्तरले पराजित हुँदै क्वाटर फाइनलबाटै बाहिरिएको हो ।

चर्च ब्वाइजलाई पराजित गर्न काँकडभिट्टाका आशिष् चापागाईँले निर्णायक गोल गरे ।

उनले खेलको ४४ औँ मिनेटमा गोल गरेका हुन । झापा गोल्डकप फाइनल खेलेर धरान पुगेको चर्च ब्वाइजका खेलाडी २४ घण्टा नबित्दै अर्को खेल खेल्नुपर्दा निकै थकित देखिन्थे ।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको चर्च ब्वाइजले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरे पनि नतिजा उल्टाउन सकेन ।

झापा गोल्डकप च्याम्पियन बनाउन गोल गरेका राजेश परियार र विदेशी खेलाडी अबियानी ओलावासेनले विपक्षीको पोष्टमा कुनै आक्रमण बुन्न सकेनन् ।

खेलको म्यान अफ द म्याच झापाका विशाल घलान घोषित भए । उनले नगद १० हजार पाए ।

आजको विजेता काँकडभिट्टाले दोस्रो सेमिफाइनलमा न्युरोड टिम एनआरटी सँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ ।

त्यसअघि बुधवारको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबिच प्रतिस्पर्धा हुनेछ ।

आयोजकले पाहुना टोली युकेएफसी भारतलाई र मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।