• निशा राई

विराटनगर : लामो समयसम्म पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने कोशी प्रदेशका ६ जना पत्रकार महिलालाई सम्मान गरिएको छ ।

पत्रकारितामा महिलाको सहभागिता, समावेशी र समुन्नत नेपाल आजको आवश्यकता भन्ने नाराको साथ मंगलबार विराटनगरमा नेपाल पत्रकार महासङ्घ, कोशी प्रदेश महिला विभागले गरेको पत्रकार महिलाहरूको क्षमता विकास कार्यशाला कार्यक्रममा सामाजिक  विकास मन्त्री सम्सेर राई, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको उपाध्यक्ष हिमा चेम्जोङ लगायतले ६ जना अग्रज महिला पत्रकारलाई सम्मानित गरेका थिए ।

सम्मानित हुनेमा निलिफा सुब्बा, गङ्गा बराल, ललिता भट्टराई, सुशीला सङ्ग्रौला, बाला अधिकारी, दुर्गा बराल भण्डारी रहेका छन् ।

समावेशी लोकतन्त्रलाई स्थापित गर्न पत्रकार, राजनीतिकर्मी, समाजसेवी लगायत सबै लागेको तथापि पत्रकारहरूको झनै महत्त्वपूर्ण भूमिका रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री सम्शेर राईले बताए ।

मन्त्री राईले उनले पत्रकारहरूलाई बिकाऊ होइन टिकाउ बनाउन र सशक्त रूपमा निष्पक्ष तरिकाले आफ्नो पेसामा स्थापित गर्न कोशी प्रदेश सरकारको र आफ्नो तर्फबाट सक्ने कार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महिला पत्रकारहरूको हक हित र निरन्तर रहिरहने वातावरण कसरी गर्न सकिन्छ भन्ने र पत्रकारिता निष्पक्ष रूपमा गर्ने बारे छलफल भएको थियो ।

पत्रकार महिलाको सङ्ख्या अझ बढाएर उनीहरूको क्षमता र दक्षता अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू गर्दै लानु पर्ने कोशी प्रदेशको उपाध्यक्ष हिमा चेम्जोङले बताइन  ।

काम गरिरहेका पत्रकार महिलाको पलायन हुने स्थिति बढेकाले उनीहरूलाई टिकाइराख्ने नीति अवलम्बन गर्नुपर्ने कुराको नीति तयार गर्ने धारणा राख्दै कोशी प्रदेशमा नेपाल पत्रकार महासङ्घको २ वटा भवनहरू निर्माणको तयारी भइरहेको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाले जानकारी दिए।

कार्यक्रममा सन्चारिका समूहको पूर्व अध्यक्ष निर्मला शर्मा, कोशी प्रदेशको सामाजिक विकासको उपसचिव दुर्गा बराल, पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको सचिव देवेन्द्र कार्की लगायत कोशी प्रदेशभरिका पत्रकारहरूको उपस्थिति रहेको थियो ।

mahila-patrakar-2