धरान : आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै एन्फा मोरङ २४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धरान रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई  पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङ उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिएको हो ।

पेनाल्टीमा धरानका मिलन लिम्बूको प्रहार मोरङका गोल किपर पूर्ण चेम्जोङले रोकेपछि धरान पराजित बन्न पुगेको हो ।

धरानका दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम जीमीले मात्र गोल गरे । मोरङको तर्फबाट अशोक खवास, धिरेन क्षेत्री, साइमन लिम्बु, आदित्य शाक्य र सागर तिवारी सहित पाँचै जनाको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको म्यान अफ द म्याच मोरङका गोलकिपर पूर्ण चेम्जोङ घोषित भए । उनले नगद १० हजार पाए ।

बिहीबारको अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र न्युरो टिम एनआरटी बिच हुनेछ ।

शनिवार हुने फाइनल विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।