इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरीका निजी विद्यालयलाई थप व्यवस्थित गर्दै लैजाने भएको छ ।

उपमहानगरपालिकाले निजी विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक विवरण, नियुक्ति पत्र लगायतका कागजात ७ दिन भित्र बुझाउन पत्राचार गरेको छ।

उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूको नियुक्ति पत्र, अध्यापन अनुमति पत्र, प्रधानाध्यापक नियुक्तिको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो ।

निजी स्कुलहरूले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरूलाई नियुक्ति पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उपमहानगरले परिपत्र गरेको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिन भित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको हो । शिक्षक र शिक्षिकाहरूलाई अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनु पर्ने र बुझाएको विवरण समेत माग गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोण प्रसाद दाहालले  बताए ।

प्रधानाध्यापकको नियुक्ति पत्र देखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरण समेत माग गरिएको दाहालले जनाए ।

itahari-school-paripatra