इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले अपमानित र लाञ्छना लगाउने काम गरेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आपत्ति जनाएका छन् । आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरूले शिक्षालयको गम्भीर अवमूल्यन भएको बताएका हुन् ।

शनिवार मेयर पौडेलले फेसबुकमा भिडियो पोष्ट गर्दै संस्थागत विद्यालयले किताब, कापी, मोजा र ड्रेस बिक्री गरेर लुटिरहेको बताएका थिए । उनले वार्षिक शुल्क र परीक्षा शुल्कको नाममा मनपरी शुल्क लिएको वक्तव्य दिएका थिए ।

भिडियोमा मेयर पौडेलले प्याब्सन सम्बद्ध नेताहरूले दलको झोला बोकेर न्यायाधीशलाई मिलाउन भन्दै विद्यालय सञ्चालनसँग पैसा मागेको आरोप समेत लगाएका थिए ।

सोही आरोपको विरुद्धमा प्याब्सन इटहरी, हिसान सुनसरी र एनप्याब्सन इटहरीले खेद व्यक्त गरेका हुन् । एउटै पोसाक लगाउनुपर्ने बाध्यात्मक व्यवस्थाले अभिभावकमा भार परेको उनीहरूको भनाइ छ । 

पोसाकमा एकरूपता कायम गर्न नसकिने बताउँदै प्रचलित शिक्षा नियमावली र इटहरी उपमहानगरपालिकाको शिक्षा ऐन अनुसार आफूहरू अगाडि बढेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक मार्फत गालिगलौज गर्ने काम भएपछि न्यायालय पुग्नुपरेको बताइएको छ ।  निजी विद्यालयको तर्फबाट सूर्यमणि निरौलाले उच्च अदालत विराटनगरमा दायर गरेको रिट उपर फाल्गुन ३० गते अन्तरिम आदेश आउने भएको छ ।