धरान : २४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधिका लागि न्युरोड टिम एनआरटी र एन्फा मोरङबिच प्रतिस्पर्धा हुने भएको छ ।

धरान रङ्गशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै एनआरटीले एन्फा मोरङसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

मोरङ टिम भने आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिएको हो ।

पेनाल्टीमा एनआरटिका गोल रक्षक प्रमञ्जय गच्छदारले उत्कृष्ट बचाउ गरे ।

खेलको अन्तिम समयमा पूजन होनाको ठाउँमा मैदानमा प्रवेश गरेका गच्छदारले काकरभिट्टा विशाल घलानको प्रहार बचाउ गरे ।

काकरभिट्टाका दिवस उराव, विमल घर्ती मगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङले मात्र गोल गरे एनआरटीका लागी सरोज तामाङ, जय गुरुङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बु सहित पाँचै जनाको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसअघि निर्धारित समयको ४४ औँ मिनेटमा फोडेफोफनाले गोल गरेर काँकडभिट्टालाई अग्रता दिलाएका थिए ।

त्यसको ३ मिनेट बित्न नपाउँदै अतिरिक्त ३ मिनेट थपिएको समयमा एनआरटीका सरोज तामाङले फ्रिकिक मार्फत गोल गरेर खेललाई बराबरी ल्याए ।

पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा पाएका अवसरहरूलाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ भए । उनले नगद १० हजार पाए ।

शनिवार हुने फाइनल खेलको विजेताले ट्रफिसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।