इटहरी : पत्रकार कृष्ण (बहाव) भट्टराई माथि बिहीबार इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले गरेको दुर्व्यवहार मुद्दा इलाका प्रहरी कार्यालयले दर्ता गर्न आनाकानी गरेको छ । पत्रकार बहावले घटना भएको एक घण्टा भित्र निवेदन लिएर इलाका प्रहरी कार्यालय पुग्दा समेत प्रहरीले दर्ता गर्न नमानेको हो ।

इटहरी उपमहानगरपालिकाको गेटमा सफारी चालकहरूको आन्दोलनको भिडियो रेकर्ड गरिरहेका उनलाई नगर प्रहरीले मोबाइल खोसेको थियो । नगर प्रहरीले धकेलेर बहावमाथि अभद्र व्यवहार गरेको र पत्रकार भनेर परिचय दिँदा समेत को पत्रकार भन्दै असभ्य व्यवहार देखाएको बहावले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

घटनाको दसी प्रमाण नष्ट हुन नपाउँदै जाहेरी दिन गएका पत्रकार बहावको जाहेरी लिन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) टेक बहादुर कार्कीले आनाकानी गरेका छन् । शुक्रवार पत्रकार महासङ्घको टोलीले गएर ध्यानाकर्षण गराउँदा समेत उनले समय लाग्ने भन्दै अल्झाउने प्रयास गरेका हुन् ।

कार्कीले घटनालाई सामान्य रूपमा लिएर अनुसन्धानपछि मात्र दर्ता गर्ने जवाफ दिएका छन् । पत्रकार महासङ्घले आइतबार १२ बजेसम्म मुद्दा दर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मुद्दाको प्रक्रिया अगाडी नबढाए इलाका प्रहरी कार्यालय अगाडी आन्दोलन गर्ने महासङ्घले जनाएको छ ।