इटहरी : पत्रकार कृष्ण (बहाव) भट्टराई माथि बिहीबार इटहरीका नगर प्रहरीले दुर्व्यवहार गरे । इटहरी उपमहानगरपालिकाको गेट अगाडी तिन पाङ्ग्रे इ-रिक्सा (सिटी सफारी) चालक र नगर प्रहरीको वादविवाद भइरहेको बेला फोटो खिचिरहेका बहावको मोबाइल नगर प्रहरीले जफत गर्‍यो ।
मोबाइल मात्र जफत गरेन लछारपछार पारेर 'को पत्रकार भन्दै' धम्की दिएको बहाव बताउँछन् । बुधवार इटहरी उपमहानगरपालिकाले ऐन किर्ते गरेको विषयमा फलोअप समाचार सङ्कलनको लागि जाँदा गेटमा भएको दृश्य लिन खोज्दा अभद्र व्यवहार भएको उनको भनाइ छ । बहाव इटहरी डेडलाईनबाट शिलापत्र डटकममा कानुन विषयमा कलम चलाउने सक्रिय पत्रकार हुन् ।
बहावले इलाका प्रहरी कार्यालय इटहरीमा अभद्र व्यवहारको कसुरमा तिन जना नगर प्रहरी विरुद्ध जाहेरी दिएका छन् । प्रहरी प्रमुख अन्यत्रै काममा भएको भन्दै उनको जाहेरी दर्ता भएको छैन । नगर प्रहरीले भने माथिको आदेश अनुसार आफूहरूले गरेको बताउँदै आएका छन् ।
बहावमाथि यसअघि पनि २०७९ असार २३ गते पनि उपमहानगरपालिका भित्र अपमान भएको थियो । कार्यपालिका बैठक लाइभ गरिरहेको समयमा पुगेका उनलाई नगर प्रमुख हेमकर्ण पौडेलले बैठकबाट निकालेका थिए ।
नगर प्रमुख पौडेलले त्यसपछि पनि पत्रकार सन्तोष यादव र विनय बाह्रकोटीलाई सोही शैलीमा कार्यपालिका बैठकबाट निकालेका थिए । पौडेलले अन्य पत्रकारलाई बैठकमै बस्न दिएर उनीहरूलाई मात्र निकालेका हुन् । इटहरी उपमहानगरको बेतिथि विरुद्ध बाह्रकोटीले कपुरी न्युजमा र यादवले नेपाल टेलिभिजनमा समाचार प्रसारण गर्दै आएका छन् ।
शपथग्रहण लगत्तै कार्यपालिका बैठक लाइभ गर्ने र पत्रकारलाई प्रवेश दिने निर्णयमा तोक लगाएका पौडेलले पत्रकारलाई बारम्बार अपमान गरिरहेका छन् । यसअघि सार्वजनिक मन्तव्यमा नगरप्रमुख पौडेलले केही सञ्चारकर्मीले संस्थागत विद्यालय सञ्चालकको जुठो खाएर समाचार लेखेको आरोप लगाए ।
पछिल्लो समय इटहरीका संस्थागत र सामुदायिक विद्यालयमा एउटै पोसाक हुनुपर्ने मेयरको निर्णय विवादमा पर्दै आएको छ। सोही विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन अवस्थामा छ ।
यसअघिका नगरप्रमुख द्धारिकलाल चौधरीले पनि पत्रकारमाथि अपमान गर्ने गरेका थिए । समाचार सङ्कलनको क्रममा प्रश्न गर्ने क्रममा उनै बहावलाई दुर्व्यवहार गरे । त्यस लगत्तै पत्रकार विराट गौतमको नाकको डाँडी भाँच्चे धम्की दिए । पत्रकार प्रति आक्रोशित चौधरीले बारम्बार माफी मागे तर अपमान गर्न छाडेनन् । गौतमले इटहरी उपमहानगरको सिएफएल बल्भ प्रकरण बाहिर ल्याएका हुन् ।
बिहीबारको घटनामा मेयर पौडेलले सामाजिक सञ्जाल मार्फत खेद व्यक्त गरेका छन् । आफू स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ छ ।