इटहरी : सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक विकास र सामाजिक रूपान्तरण नारा सहित शुक्रवार कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षा उपसमितिको संयोजकत्वमा पदाधिकारीहरूलाई सहकारीका आधारभूत सिद्धान्त, प्रचलित मूल्य र मान्यता, सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समितिको विषयमा प्रशिक्षित गराइएको छ ।

शिक्षा उपसमिति संयोजक निमेष घिमिरेका अनुसार विभिन्न समितिका काम, कर्तव्य र अधिकार देखी सहकारी ऐन नीति तथा नियमावली देखि हालको वित्त क्षेत्रका चुनौती र अवसरहरू बारेमा छलफल भएको हो ।

सहकारीका सदस्यहरू अन्य बैङ्क तथा वित्तीय संस्थाका ग्राहक जस्तो नभएर संस्थाको मालिक भएकाले आधारभूत ज्ञान आवश्यक रहेको बारे जानकारी गराइएको घिमिरेले बताए । सहकारीका आधारभूत सैद्धान्तिक जानकारी नहुनु र सेवा सुविधाका बारेमा सचेत नभएका कारण गलत अफवाह फैलिएको उनको भनाइ छ ।

सहकारीका अध्यक्ष प्रदीप पोख्रेलले गलत नियत र भावनाले मानिसहरू आएका कारण सम्पूर्ण सहकारीको बदनाम भएको बताए । असल सहकारीले आफ्ना सदस्यहरूलाई वित्तीय शिक्षा दिएर चेतनशील बनाउनुपर्ने उनको जोड छ ।

सेवा बचत तथा ऋण सहकारीको ऐतिहासिक पृष्ठभूमि, लक्ष्य-उद्देश्य बारे संस्थाका सहायक प्रबन्धक राजेश जोशीले प्रस्तुत दिएका छन्। अभिमुखी कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न सेवा केन्द्रका व्यवस्थापन उपसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

Sewa-sakosh-4sewa-sakosh-5sewa-sahakari-2