धरान : नेपाली लेखक सङ्घको आज शुक्रवार विराटनगरमा भएको प्रथम कोशी प्रदेश अधिवेशनले १३ सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

सङ्घको पहिलो प्रदेश कार्यसमितिको अध्यक्षमा अध्यक्ष गोकुल अधिकारी (मोरङ) निर्विरोध निर्वाचित भएका हुन ।

अधिवेशनले उपाध्यक्षमा समदर्शी काइला (पाँचथर), महासचिव मीनकुमार नवोदित श्रेष्ठ (मोरङ), सचिव वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्ष लक्ष्मी रायमाझी (मोरङ) लाई पनि निर्विरोध निर्वाचित गरेको छ ।

प्रदेश कार्यसमिति सदस्यमा कृष्ण अधिकारी सुनसरी, मिलनकुमार ढुङ्गाना झापा, पूजा बहार सुनसरी, मनु विश्वकर्मा धनकुटा, डा.भेषराज खनाल ओखलढुङ्गा, फणीराज नेपाल सङ्खुवासभा, केजी सुब्बा धनकुटा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली लेखक सङ्घ नेपालमा लेखकहरूको हकहितका लागि अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको अधिकारका लागि २००७ सालमा गठन भएको पहिलो संस्था हो ।

सङ्घका केन्द्रीय सहअध्यक्ष रत्नमणि नेपालले अधिवेशनको उद्घाटन समारोहमा भने ‘नेपाली लेखक सङ्घको गठन २००८ सालमा भएको भनिँदै आएपनि इतिहासको खोज गर्दा २००७ साल फागुनमा गठन भएको पाइएको छ ।’

नाटककार विजय मल्लको नेतृत्व पछि २०१० सालमा बालकृष्ण समको अध्यक्षतामा पुनर्गठन भएको सङ्घमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान सहित नेपाली साहित्यका महान् पुरुषहरू आबद्ध रहेको इतिहास रहेको उनले बताए ।

सङ्घका केन्द्रीय अध्यक्ष प्रसिद्ध कवि तीर्थ श्रेष्ठले सात दश भन्दा अघि स्थापित नेपाली लेखक सङ्घको उद्देश्य पछिल्लो कालखण्डमा पनि प्रासङ्गिक रहँदै आएकोले यसको पुनर्जागरण तथा क्रियाशीलताको अभियान सुरु भएको बताए ।

प्रमुख अतिथि कविराज न्यौपानेले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि अघिल्लो पङ्क्तिका लेखक, साहित्यकारहरू भएको बताउँदै इतिहासको त्यो समयमा उनीहरूको अधिकार रक्षाका लागि स्थापित नेपाली लेखक सङ्घको निरन्तरता इतिहासको निरन्तरता भएको बताए ।

प्रदेश अधिवेशन आयोजक समितिका संयोजक विवश पोखरेलको सभापतित्वमा भएको अधिवेशनमा कविराज न्यौपाने, गंगाधर कट्टेल, डा.विमला श्रेष्ठको निर्वाचन समितिले नयाँ प्रदेश समितिको गठन प्रक्रिया सम्पन्न गरेको हो ।

lekh-sang-3Nepali-lekhak-sang-2