धरान : धरानको भौगोलिक पूनःसंरचनामा पछिल्लो समय मिसिएको पाँचकन्या गाविसको पानवारी गाउँको इतिहास सम्झना गराउँदै आयोजित पानवारी शतवार्षिक महोत्सव शुक्रवार समापन भएको छ ।

शहरमा मिसिएपनि कृषि क्षेत्रको रूपमा मानिएका पानवारीको विशेषता हराउन नहुने कुरा समापनका अवसरमा कोशी प्रदेशका वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले आग्रह गरेका छन् ।

उनले भने ‘रैथाने कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादन बढाउँदै संस्कृति र पहिचान संरक्षण गर्न जरुरी छ ।’

समापनको अवसरमा धरान-६ पानवारिलाई विभिन्न क्षेत्रमा योगदान दिएका ५६ जना राजनीतिक, सामाजिक सेवामा क्रियाशील अभियान्ताहरु र पत्रकारलाई सम्मान प्रदान गरियो ।

पानवारीका इतिहासलाई ताजकी गर्ने प्रधानपञ्च, उपप्रधानपञ्च तथा गाविस अध्यक्ष, पूर्व वडाध्यक्ष, जग्गादाता, राजनैतिक व्यक्तित्व, सञ्चार माध्यमबाट सामाजिक परिवर्तनमा योगदान दिएका पत्रकार रणध्वज लोहारलाई सम्मान गरिएको हो ।

साही अवसरमा पानवारी भलिबल कपका विजेता धरान बाझोगरा भलिबल क्लबलाई च्याम्पियनको उपाधि सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई ३-१ को सेटमा पराजित गर्दै बाझोगरा च्याम्पियन बनेको हो । पहिलो सेट २१-२५ ले गुमाएको बाझोगराले त्यसपछि २५-११, २५-१६ र २६-२४ को सेटमा विजयी भएको थियो ।

उपधीसँगै बाझोगराले ३५ तोला चाँदीको रनिङ ट्रफि र नगद १ लाख पुरस्कार जितेको छ । दोस्रो भएको सयपत्रीले ५० हजार नगद पुरस्कार जितेको छ । फाइनल खेलको म्यान अफ द म्याच बाझोगरा भलिबल क्लबका बालकुमार रायमाझी घोषित हुँदै नगद २५ सय पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बाझोगराका रोमन बस्नेतले नगद १० हजार पुरस्कार प्राप्त गरे । त्यस्तै बेष्ट सर्भर सयपत्रीका सविन राई, बेष्ट स्पाइकर सयपत्रीकै विनोद श्रेष्ठ, बेष्ट सेटर बाझोगराका राजन लिम्बू, बेष्ट डिफेन्स बाझोगराका सन्तोष राई, बेष्ट ब्लकर बाझोगराका पुकार तामाङ र बेष्ट कोच बाझोगराका धनबहादुर मगर घोषित भए । उनीहरूलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

panbari-mahotsab-4panbari-mahotsab-6